काभ्ला ओभेद (Kav LaOved ) - ISRAEL

Workers' Rights (for Caregivers) काभ्ला ओभेद (Kav LaOved )

(Protection Of Worker’s Right)

काभ्लाओभेद मुनाफारहित संश्था हो, जसले स्वदेशी होस् वा विदेशी कामदारहरुलाई आवश्यकीय सल्लाह र कानुनी सहयोग प्रदान गर्दछ । इजरायली वा आप्रवासी सबै कामदारहरु (भिषा भएका वा नभएका) हरुलाई इजरायली कानुन अनुसार निम्न लिखित अधिकारहरु सुरक्षित गरी प्रदान गरिएको छ । जो निम्न छनः–

कामदारहरुको काम, कर्तव्य र अधिकारहरु:–

केयर गिभरको काम, कर्तव्य र अधिकार :-

हामी आफ्नो घर परिवारलाई छोडेर यस विदेशी भूमीमा आफ्नो आर्थिक स्थिति केही बलियो वनाई आफू र आफ्ना सन्तानको उज्वल भविष्यको सपना बोकी आएका छौं । विभिन्न क्षेत्रमा काम गर्न आएतापनि अधिकांशले केयरगिभरको काम गरिरहेका छौं । हामी नेपलबाट इजरायल आउनु अगाडि थोरैले मात्र सामान्य तालिम लिएका छौं । त्यसमा पनि सिमित कुराहरु भनिएको हुन्छ । तालिमममा हाम्रो हक अधिकारहरुको बारेमा केही पनि जानकारी दिइएको हुदैन । त्यसकारण हामी सुसारेको काम गर्ने सबैले आ-आफ्नो अधिकारहरुबारे जान्नु जरुरी हुन आउछ ।

केयरगिभरको काम तथा कर्तव्य:-

केयरगिभरले गर्नुपर्ने मुख्य काम भनेको नियमित रुपमा आफ्नो स्याहार आफैले गर्न नसक्ने वूढावूढी, केटाकेटी, रोगी, अपाङ्ग आदिको स्याहार सुसार गर्नु हो । जसको स्याहार गरिन्छ त्यही व्यक्ति केयरगिभरको मालिक हो । मालिकको घरमा के कति काम कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नु जरुरी छ ।

हुनत हामीले जसको भिषा लागेको हुन्छ उसको मात्र हेरविचार गर्नुपर्ने हो तर हामीले त्यो व्यक्तिसँग सम्वन्धित सबै कार्यहरु गर्नुपर्ने हुन्छ । त्यो व्यक्ति एक्लै भए उसको लागि खाना वनाउने, उसको लुगा धोइदिने, घर सफा गर्ने आदि आदि मुक्य कामहरु हुन् । हामी मध्ये धेरैका मालिकहरु संयुक्त परिवारमा बसेका हुन्छन् । त्यतो अवश्थामा कोही थप एकजना मात्र भए उसको पनि काम गर्नुपर्ने हुन्छ । त्यको पनि पुरा हेरचाह गर्नुपर्ने भए थप ५० डलरमा गर्न सकिन्छ । अरुपनि परिवारका सदस्यहरु भए सबैको काम गर्न अनिवार्यता छैन । परिवारका अन्य सदस्यहरुले आफ्नो काम आपै गर्नुपर्ने हुन्छ । यदि दवाव दिएर काम गर्न लगाएमा त्यो परिवारसँग थप रकम माग गर्न पाउने अधिकार छ । कतिपयले मालिकका छोराछोरीहरुको घरमा कुनै भोज वा अन्य कुनै चाड पर्व भएको बेला त्यहा गएर काम गर्न लगाए भने तपाँईले सिधै नकार्न सक्नुहुन्छ । गर्नै परेतापनि प्रतिघण्टाको हिसाव गरेर थप रकम माग गर्न पाउनुहुन्छ ।

आफ्नो मालिकले इच्छाएका खानाहरु पकाएर, किनेर खुवाउनु पर्ने, जान खोजेको ठाउँमा उ एक्लै जान असमर्थ भए त्यहाँ सम्म पु-याएर ल्याउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गरेर आफ्नो मालिकको मन जित्न सके हाम्रो काम दिगो रहन्छ । तर मालिकको हरेक इच्छा भन्दा उसले हाम्रो इच्छा विरुद्ध अनावश्यक मागहरु ग-यो भने त्यसको ठाडो विरोध गर्न सक्नुहुन्छ । बलजफ्ति वा कुनै किसिमको गलत नियतले हातपात गर्न खोजेमा तपाँइले संवन्धित म्यानपावर एजेन्सीको कार्यालयमा खवर गर्न सक्नुहुन्छ र त्यहाँबाट राम्रो सुनुवाई नभएमा प्रहरीलाई खवर गर्न सकिन्छ । त्यस्तो घरमा कुनै किसिमको शोषण सहेर काम गर्न जरुरी छैन । एकपटक रिपोर्ट गरेर काम छोडेर आउन सक्नुहुन्छ । कुनै पनि कामबाट निकालेको खन्डमा त्यो घरबाट निष्किनु अगाडि आफ्नो एजेन्सीलाई कवर गरेर त्यो घरमा काम गरेको दिनको रकम हिसाब गरेर उक्त रकम लिई त्यो घरबाट रिलिज पेपर लिएर मात्र घरबाट वाहिर निस्किनु पर्छ । यदि त्यसरी दिन असहमती जनाए एज्न्सीलाई खवर गरेर निस्किनु पर्छ । यसो नगर्दा पछि त्यो घर मालिकले घरबाट भागेको वा चोरीको अभियोग पनि लगाउन सक्छन । उल्लेखित कामकुराहरु पुरा गर्नुनै हाम्रो मुख्य कर्तव्य हो ।

केयर गिभरका अधिकारहरु :-

यसै अन्तर्गत हामीले इजरायलमा काम गरे वापत कस्ता कस्ता सुविधाहरु पाउछौ त ? हाम्रा हक अधिकारहरु के के हुन त ? हाम्रो अधिकारहरु कस्तो कस्तो प्रकारहरुमा हुन्छ त ? यसको बारेमा इजरायलमा रहेका मानव अधिकारवादी संस्था काभ्लाओभेद सँग समन्वय गरी हाम्रो अधिकारहरु बारे जानकारी लिएका थियौं । जसको निम्नानुसार वुँदागत रुपमा जानकारी गराएका छौं ।

१. हाम्रो तलवमान कति हो त ? - हामी जो पुरा समय काम गर्छौ कम्तिमा हाम्रो पारिश्रमीक ३,८५०.१८ शेकेल प्रति महिना अर्थात १८६ घण्टा प्रति महिना काम गर्दा प्रति घण्टा २०.६९९८ शेकेलको दरले पाउनु पर्दछ ।

२. पारिश्रमीक कहिले पाउने ? - प्रत्येक महिनाको ९ तारीख सम्ममा हामीले काम गरेको अघिल्लो महिनाको पारिश्रमीक पाउनु पर्दछ ।

३. अतिरिक्त काम र पारिश्रमीक ( Over time) - प्रत्येक दिनको ८ घण्टाको काम पछाडि अरु काम गर्नु पर्ने भएमा पहिलो दुई घण्टाको १२५ प्रतिशत थप गरेर प्रतिघण्टा २५.८७४८ शेकेल र त्यो भन्दा वढी अरु काम गर्नुपर्ने भएमा प्रत्येक घण्टाको १५० प्रतिशत थप सहित गरेर प्रतिघण्टा ३१.०४९८ शेकेलको दरले पाउनु पर्छ ।

४. काम गरेको समयको लेखाजोखा – आफ्नो मालिकले कहिलेकाहीं आपत्ति जनाउन पनि सक्छ यदी सम्झौता भएको छैन भने प्रत्येक दिन आफूले गरेको कार्यअवधि (शुरु गरेको र अन्त्य गरेको समय) लेखेर आफ्नो मालिकलाई हस्ताक्षर गराउनुपर्दछ ।

५. बासस्थान – तपाँईले काम गर्ने घर मालिकले तपाँईलाई बासबस्ने व्यवस्था गर्नु पर्दछ । ओछ्यान तथा अन्य आवश्यक कुराहरुको व्यवश्था गर्नुपर्दछ र तपाँइले काम गर्न छोडेको थप सात दिन सम्म तपाँइलाई आवश्यक परेको खण्डमा उक्त घर प्रयोग गर्न पाउनु हुन्छ ।

६. पारिश्रमिक कटौंती – यदी तपाँईलाई मालिकले मासिक रुपमा पाउने पारिश्रमिक दिइरहेको भए निम्न कुराहरुमा तपाँईको तलवमान बाट काट्न सक्ने अधिकार रहेको छः–

क. स्वास्थ्य विमा – तपाँईको विमा तपाँईको मालिकले जति तिरेको छ त्यसको आधा रकम वा एक सय तिन शेकेल सम्म काट्न पाउने छ । (प्रति महिना स्वाथ्य विमाको लागी आधा रकम बढीमा १०६ सेकेल सम्म)

ख. राष्ट्रिय विमा – तपाँईको तलवको ०.०४ प्रतिशत मात्र तपाँईको मालिकले राष्ट्रिय विमा स्वरुप काट्न सक्नेछन् ।

ग. बासस्थान – यदी तपाँईको मालिकको आफ्नो घर छ भने प्रत्येक महिना ठाउँ अनुसार ( जेरुसेलम १५५ शेकेल, तेलअभिव १७७ शेकेल, हाइफा ११७ शेकेल र मध्ये भेगमा ११७ शेकेल, दक्षिण भेगमा १०४ शेकेल र उत्तरी भेगमा ९६ शेकेल काट्न सक्नेछन् । यदी तपाँईको मालिकको आफ्नो घर होइन भने माथिको रकमहरु मध्ये बाट दोव्वर पनि काट्न सक्ने अधिकार छ ।

घ. बत्ति र पानी – बत्ति र पानीको लागि ६७ शेकेल काट्न सक्नेछन् ।

ङ. माथिको पारिश्रमिक एकमुस्ट काट्नु परेमा पुरा तलवमान बाट अधिकतम २५ प्रतिशत सम्म [३,८५०.१८ – २५%( ९६२.५५ शेकेल) = २,८८७.६३ शेकेल यो नै केयर गिभरको न्युनतम तलवमान हो] काट्न पाउने इजरायलको कानुनमा उल्लेख गरिएको छ ।

७. हप्ताको विदा समय – तपाँईले सातामा एक दिन पाउने साप्ताहिक विदामा लगातार ३६ घण्टा छुट्टी पाउनुहुन्छ । जुन समय तपाँईको धर्म र परम्परा अनुसार पाउने समयसमेत जोडिएको हो । यदी तपाँईले उक्त छुट्टीमा काम गर्नु परेमा तपाँईको तलवको १५० प्रतिशतले हुन आउने लगभग २४८.३९८७ शेकेल र थप प्रत्येक हप्का पाउने गोजी खर्च समेत पाउनुहुन्छ (जस्तैः–३८५०.१८÷१८६=२०.६९९८ × ८ × १५०% = २४८.३९८७ शेकेल ) ।

८. वार्षिक विदा - तपाँइले प्रत्येक हप्ता पाउने छुट्टि (विदा) को दिन वाहेक काम शुरु गरेको वर्ष देखि पहिलो चार वर्ष सम्म १२ दिन पाउनु हुन्छ । पाँचौ वर्ष १४ दिन, छैठौं वर्ष १६ दिन र सातौं वर्ष अठार दिन विदा पाउनु हुन्छ । यदि यो समयमा विदा पाउनु भएन भने तपाँइले पाउने कुल तलवलाई २६ दिनले भाग गर्दा आउने रकमलाई १२ ले गुणान गर्दा आउने रकम पाउनुहुन्छ । ( जस्तैः–३,८५०.१८ ÷ २६ = १४८ × १२ = १,७७७ शेकेल) ।

९. विदाहरु ( चाडपर्व ) – तपाँइले काम शुरु गरेको दिन देखि हप्ताको विदा वाहेक ९ वटा चाडपर्वको विदा पाउनुहुन्छ । यदि तपाँइले उक्त दिन काम गर्नु भएमा तपाँइले पाउने तलवको १५० प्रतिशतले हुन आउने रकम पाउनुहुन्छ । (जस्तैः–३८५०.१८÷१८६=२०.६९९८ × ८ × १५०% = २४८.३९८७ शेकेल ) ।

१०. अतिरिक्त रकम – तपाँइले काम गरेको एक वर्ष पुरा पुगेपछि तपाँइले पाँच दिनको रकम प्रतिदिन ३३१ शेकेलको दरले पाउनुहुन्छ । दोश्रो र तेश्रो वर्ष पुरा गरेपछि ६ दिन र चौथो देखि दशौं वर्ष सम्म ७ दिनको रकम पाउनुहुन्छ (जस्तैः–३३१ × ५ = १,६५५) ।

११. विरामी भत्ता – तपाँइ विरामी भएको खण्डमा तपाँइको मालिकले तपाँइलाई विरामी भत्ता दिनु पर्छ । पहिलो दिनको उसले तिर्नु पर्दैन, विरामी भएको दोश्रो र तेश्रो दिन तलवमानको ३७.५ प्रतिशतका दरले दैनिक पारिश्रमिकबाट दिनु पर्छ । चौथो दिन देखि पछिका दिनहरुमा क्रमश: ७५ प्रतिशतका हिसावले दिनु पर्छ । यो विरामी दिन तपाँइ काम गर्न शुरु गरेको दिन देखि गनिने छ । १.५ दिन प्रत्येक महिना काम गरे वापत, अधिकतम ९० दिन सम्म विरामी विदाका दिनहरु सम्म पाइन्छ ।

१२. सेवा निबृत्ति भत्ता – एक वर्ष पुरा पुगे पछि तपाँइले काम गरेको घरबाट मालिकले निकालेको खण्डमा वा मांलिकको मृत्यु भएमा वा मालिकलाई अन्त सारेमा तपाँइलाई मालिकले अतिरिक्त रकम तिर्नुपर्ने हुन्छ । तपाँइको भिषा नविकरण भएको हुँदैन, तपाँइको अवश्था खराव भएको हुन्छ, तपाँइसँग पैसा हुँदैन, विरामी पर्न सक्नुहुन्छ । त्यस्तो अवश्थामा तपाँइले काम गरेको वर्षलाई प्रत्येक महिनामा पाउने तलवले गुणा गरेर हुन आउने रकम पाउनुहुन्छ । अर्थात प्रत्येक एक वर्षका लागि एकमहिनाको तलव वरावरको रकम पाउनुहुन्छ ।

१३. निकाल्न वा निस्कन दिने सुचना – यदि तपाँइले काम छोड्न लाग्नु भएको छ भने वा मालिकले निकाल्न लागेको छ भने पहिले लिखित सुचना दिनु पर्छ । कति दिन सम्म सुचना दिनुपर्छ भन्ने कुरा तपाँइ काम गरेको अवधिमा भर पर्दछ । पहिलो ६ महिना भित्र भए कम्तिमा एक दिन पहिला सुचना दिएर काम चोड्नु वा छुटाउनु पर्दछ । सात महिना देखि एक वर्ष भित्रमा ६ दिन । २.५ दिन प्रत्येक महिनाको लागि र एक वर्ष पुगे पछि एक महिना अगाडि लिखित जानकारी गराउनु पर्दछ । यदि कुनै पक्षले यो कार्य पुरा गरेको नभए अर्को पक्षलाई समय अवधीको आधारमा नियमित तलव वुझाउनु पर्ने हुन्छ ।

१४. सुत्केरी र सुविधा – कुनै पनि गर्भवती महिला जसले ६ महिना भन्दा वढि काम गरिसकेको भए उसलाई कामबाट निकाल्न गैर कानूनी मानिन्छ । यदि तपाँइ सुत्केरी हुनु भएको छ भने तपाँइले अस्पतालमा पाउने सम्पूर्ण सुविदा पाउनु पर्छ साथै पहिलो वच्चा जन्मदा लाग्ने खर्च र ३ महिनासम्म तलवी सुत्केरी विदा राष्ट्रिय विमा संस्थाबाट पाउनुहुनेछ ।

१५. स्वास्थ्य विमा – तपाँइसँग स्वास्थ्यको विमा हुनु अत्यन्तै जरुरी छ । तपाँइ कुनै मालिक कहाँ काम गर्नुहुन्छ तपाँइको मालिकले विमाको रकम तिर्नुपर्ने हुन्छ । यदि मालिकले विमा काटिदिएमा ३० दिन भित्रमा तपाँइले आफैले विमा शुल्क तिर्ने गरी विमा नियमित गर्न विमा कम्पनीलाई अनुरोध गर्न सक्नुहुन्छ र विमा कम्पनीले स्वीकार गर्नेछ । { जव तपाँइ मालिकको कामबाट छुट्नुहुन्छ कृपया तपाँइले त्यही कम्पनीबाट विमा गराउनुहोस् ताकी त्यसबाट पाउने कुनै पनि सुविधाहरुबाट वञ्चित हुन नपरोस }

क. राष्ट्रिय विमा – मालिकले अनिवार्य रुपमा तपाँइको दर्ता राष्ट्रिय विमा संस्थानमा गराउनु पर्दछ । यो अनिवार्य छ कि त्यस राष्ट्रिय विमाको एक प्रति तपाँइसँग हुनु जरुरी छ, किनभने विरामी भएको अवस्था वा अन्य काम गर्ने शिलशिलामा कुनै दुर्घटना भएमा त्यो कागज हुनु अति जरुरी हुन्छ ।

१६. स्वास्थ्य उपचार – सबै मेडिकल उपचार खर्चहरु तपाँइको व्यक्तिगत स्वास्थ्य विमाले व्यहोर्दछ । कामको शिलशिलामा भएको दुर्घटना र वच्चा जन्माउदा अस्पतालमा लाग्ने खर्छ राष्ट्रिय विमाले व्यहोर्छ । यदि आकस्मिक उपचार गराउनु परेमा तपाँइको उपचार अवश्य हुन्च चाहे तपाँइको स्वास्थ्य विमा वा भिषा दुवै नहोस तर यो खर्च तपाँइले आफै तिर्नुपर्ने हुन्छ ।

१७. यौन दुर्व्यवहार – कुनै पनि किसिमको यौन दुर्व्यवहार इजरायली कानून अनुसार पूर्ण गौर कानूनी हो । यसमा तपाँइलाई कामबाट निकाल्ने धम्की वा अन्य प्रकारको यौन दुर्व्यवहारको प्रस्ताव समावेश भएको हुन्छ । कुनैपनि कामदार तपाँइले तुरुन्त काभ्लाओभेदमा गएर खवर गर्नुहोला तत्पश्चात तपाँइलाई काभ्लाओभेदले आवश्यक सहयोग गर्नेछ ।

१८. मध्यस्त कर्ता शुल्क – तपाँइसँग कुनैपनि म्यानपावर कम्पनीले अधिकतम शुल्क ३,१३५ शेकेल मात्र लिन पाउने अनुमती छ । यसमा तपाँइले स्वदेशमा मध्यस्त कर्तालाई तिरेको शुल्क समावेश भएको हुन्छ तर तपाँइको हवाई टिकट खर्छ जोडिएको हुँदैन, यदि तपाँइ पहिला नै इजरायल आइसक्नु भएको भए नयाँ मालिक खोज्दा म्यानपावर कम्पनी तथा एजेन्सीलाई तपाँइसँग तप रकम असुल गर्ने विल्कुलै अनुमती छैन । यदि पैसा असुलेमा त्यो गैर कानूनी हुनेछ ।

१९. राहदानी – तपाँइको इच्चा विरुद्ध कुनैपनि मालिक वना एजेन्सीले तपाँइको राहदानी राख्नु भनेको अपराधिक कार्य मानिनेछ ।

२०. स्वदेश फिर्ता – तपाँइको इच्छा विरुद्ध तपाँइलाई कुनैपनि मालिक, म्यानपावर कम्पनी वा एजेन्सीले स्वदेश फिर्ता गराउन खोज्छ भने त्योपनि अपराधिक कार्य हो । यदि यसो गरेमा त्यो पनि गैर कानूनी कार्य हो ।

तपाँइको सेवाको लागिः–

१. काभ्लाओभेद ( कामदारको अधिकारहरु, भिषा समस्या) –

क) ००९७२-३-६८८३७६६, वाइ एल पेरेज स्ट्रिट, १७ तेलअभिव

ख) ००९७२-४-८६४३३५०, हरट्जेल स्ट्रिट, १८ हाइफा

ग) ००९७२-८-६२३९६१९, रेगेर स्ट्रिट, १९ वेरसेभा

घ) ००९७२-२-६२४२८०१, यनए स्ट्रिट, ६ जेरुशलेम

२. मेशिला ( सामाजिक समस्याहरु, परिवार र वच्चाहरु ) – ००९७२-३-६८७९७२७, रिशोन लेस्यून स्ट्रिट,३ तेलअभिव

३. मानव अधिकारको लागि चिकित्सक (स्वास्थ्य समस्याहरु, विमा सम्वन्धी) – ००९७२-३-६८७३०२७, ००९७२-३-६८७३७१८, गोलेम्व स्ट्रिट, ५२ तेलअभिव

४. विदेशी कामदारहरुका लागि हट लाइन (जेलमा परेका कामदारहरुका लागि) – ००९७२-३-५६०२५३०, लाख्लात विन्याम्न स्ट्रिट ७५ तेलअभिव

५. नेपाली राजदुतावास – फोन नम्वर - ००९७२-३-५१००१११, ००९७२-३-५१६८०८५ फ्याक्स नम्वर – ००९७२-३-५१६७९६५, कौफम्यान स्ट्रिट २ तेलअभिव ६८०१२, इमेल – nepal.embassy@012.net.il , nepembtelaviv@gmail.com

६. यसैलाइ अँग्रेजीमा हेर्न चहानुभएमा http://www.kavlaoved.org.il/rights_n_eng.asp?pid=106

+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive


View ALL

.
.
.
.
.